एभरेष्टमा ल्याइयो ‘ह्यापीनेश करिकुलम’

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा यस शैक्षिक सत्रबाट ह्यापिनेश करिकुलम समेत समेटिने भएको छ । यो करिकुलम कोशी प्रदेशमा पहिलो पटक एभरेष्टले लागु गरेको हो ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सुरु गरिएको यो करिकुलमलाई क्रमशः थप गर्दै लगिने विद्यालयले जनाएको छ । ह्यापिनेश करिकुलम लागु गर्न आजदेखि शिक्षक शिक्षिकाका लागि दुईदिने कार्यशाला सञ्चालन गरिएको छ ।

कार्यशालाको उद्घाटन समारोहमा बोल्दै प्राचार्य टीकाराम पुरीले कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलले ह्यापीनेश करिकुलम शुरु गरेको बताउनुभयो । उहाँले ह्यापीनेश करिकुलम स्थानीय सरकारको समेत प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

शिक्षाको विकासले मात्रै मुलकको विकास सम्भव रहेको नीति निर्माताले बुझ्न आवश्यक रहेको तर्क गर्दै उहाँले शिक्षक र शिक्षा क्षेत्रले विकसित राष्ट्रमा बेग्लै महत्व पाएपनि हाम्रो देशमा त्यस्तो हुन नसकेको गुनासो गर्नुभयो ।

एभरेष्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष विनोद ढकालले कार्यशाला उद्घाटन गर्दै शैक्षिक क्षेत्रमा एभरेष्टले नयाँपन दिन खोजेको बताउनुभयो । उहाँले ह्यापीनेश करिकुलमका विज्ञहरुलाई ल्याएर कार्यशाला आयोजना गरिएको भन्दै सक्रिय सहभागिता जनाएर लाभ लिनुपर्ने बताउनुभयो ।

दुई दिने कार्यशालाको सहजीकरण विज्ञहरु श्रवणकुमार शुक्ला र रामप्रसाद पाण्डेले गर्दैहुनुहुन्छ । शुक्ला भारतको नयाँ दिल्लीमा लागु गरिएको ह्यापीनेश करिकुलमको अवधारणा विकास गर्ने मध्येका एक हुनुहुन्छ । पाण्डे नेपालमा पहिलो पटक ह्यापीनेश करिकुलम लागु गर्ने विद्यालय सञ्चालक हुनुहुन्छ ।

कार्यशालामा एभरेष्ट स्कुलका १ सय ५० शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको भाईस प्रिन्सीपल नारायण कडरियाले जानकारी दिनुभयो । कार्यशाला भोलि समापन हुनेछ ।

Back to top button