सांसदहरु निर्वाचन क्षेत्र फर्कनु अघि आज एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । संसद अधिवेशन समापनभएसँगै नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज ११ बजे संसद भवन वानेश्वरमा दलको बैठक आह्वान गरिएको प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमालेमा संसद अधिवेशन प्रारम्भ हुनु अघि समापन भएपछि दलको बैठक आयोजना गर्ने चलन छ ।

संसद अधिवेशन प्रारम्भ हुनुभन्दा अघि बोलाइएको बैठकमा उक्त अधिवेशनमा सांसदहरुले के कसरी प्रष्तुत हुने भन्ने विषयमा जानकारी गराइन्छ भने समापन भइसकेपछि त्यस अधिवेशनको समिक्षा गर्ने चलन रहेको वर्तौलाले बताउनुभयो ।

उहाँका अनुसार आजको बैठकमा संसद अधिवेशनको समापनसँगै सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जाने,जनताका समस्या सुन्ने,आगामी नीति तथा कार्यक्रम र बजेटमा उक्त योजनाहरु सामेल गराउन पहल गर्ने आदि विषयमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिनुहुने छ ।

यसैगरी संसदय समितीहरुमा विचाराधिन रहेका विधयेकहरुमा सक्रिय सहभागिता जनाउने,कानुन निर्माणमा भूमिका निर्वाह गर्ने विषय पनि आजको बैठकका कार्यसुचीमा रहेका छन् ।

यसैगरी समसामयिक राजनीतिक परिस्थितीक बारेमा पनि अध्यक्ष एवं दलका नेता ओलीले सांसदहरुलाई जानकारी गराउनुहुने छ । संसदको अधिवेशन हिजो अन्त्य भएको हो ।

Back to top button