सुदुरपश्चिम प्रदेशमा सोडारीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने एकिककृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता रहनुभएका सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

पार्टीको १० औ महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालय बैठक पार्टी कार्यालयमा जारी छ । सोही बैठकका क्रममा सुदूरपश्चिमको विषयमा पनि निर्णय भएको हो ।

केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल बहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ ।

यसअघि नागरिक उन्मुक्तिलाई त्यहाँको मुख्यमन्त्री दिने निर्णय भएकोमा निर्णय परिवर्तन गर्दै एकीकृत समाजावादीलाई दिने निर्णय भएको थियो । तर नाउपामा रेशम र रञ्जिता पक्ष विभाजित छ । रेशमको पक्षमा प्रदेश संसदीय दलका नेता रहेको र यो पक्ष कांग्रेससँगको समीकरणमा रहेकाले सोडारीले समर्थन पाउनेमा अनिश्चितता छ ।

सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार हुनुभएको थियो ।

त्यसअनुसार एकीकृत समाजवादीका दल नेता सोडारीले आज बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गर्नुभएको थियो । तर केन्द्रबाट निर्देशन नआएको भन्दै एमाले नेताहरू बिहान बैठकमा सहभागि हुनुभएन ।

सुदूरपश्चिम प्रदेशसभाका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने सरकार गठनबारे पार्टी नेतृत्वले कुनै निर्देशन नदिएकाले अहिले केही निर्णय नभएको बताउनुभएको छ ।

Back to top button