एसीसी पुरुष प्रिमियर कप क्रिकेटः साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश

विराटनगर । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।

८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्याएको हो । नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूह चरणबाटै घर फर्कन बाध्य भएको छ ।

समूह ‘ए’ बाट हङकङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भएको छ । आजै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङकङले मलेसियालाई सात विकेटले हराएको थियो । बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रन रेटका आधारमा हङकङलाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो ।

Back to top button