रिकभरिङ्ग नेपालको विराटनगर महानगरपालिका न्यायिक समितिसँग अन्तरक्रिया

विराटनगर : लागुऔषध प्रयोगकर्ताहरूको पुनर्स्थापनाको क्षेत्रमा क्रियाशिल संस्था रिकभरिङ्ग नेपालले विराटनगर महानगरपालिकाको न्यायिक समितिसँग अन्तरक्रिया गरेको छ । शुक्रबार विराटनगर महानगरपालिकाको सभाहलमा रिकभरिङ्ग नेपालले लागुऔषध प्रयोगकर्ताहरूको समाजिक तथा आर्थिक पुनर्स्थापनामा स्थानीय तहले खेल्नु पर्ने भूमिका तथा स्थानिय तहसँगको अपेक्षा लगायत विषयमा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा रिकभरिङ्ग नेपालको कोशी प्रदेश समिति उपाध्यक्ष सञ्जीव चापागाईँले विराटनगर महानगरपालिकामा लागुऔषध प्रयोगकर्ताको संङ्ख्यामा गुणात्मक वृद्धि भइरहेको बताउनु भएको थियो । उहाँले स्थानीय तहले युवापुस्तालाई लागुऔषधको प्रभावबाट मुक्त बनाउन विशेष अभियान सञ्चालन गर्नु पर्ने नभए आँउदो पुस्तासमेत लागुऔषध प्रयोगको भासमा जाकिने भन्दै चिन्ता व्यक्त गर्नु भएको थियो ।

रिकभरिङ्ग नेपालको कोशी प्रदेश समिति महासचिव जय देवकोटाले विराटनगर लागुऔषध प्रयोगको हिसाबले जोखिमयुक्त स्थान भएको बताउनु भएको थियो । देवकोटाले विराटनगर महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेको ५ वटा पुनर्स्थापना केन्द्रमा महानगरपलिकाको आर्थिक सहयोगमा ५० वटा प्रयोगकर्तालाई राख्ने गरिएकोमा हाल महानगरले उक्त आर्थिक सहयोग समेत काटिदिएको भन्दै असन्तोष समेत व्यक्त गर्नु भएको थियो ।

विराटनगर महानगरपलिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महानगरले लागुऔषध नियन्त्रणको क्षेत्रमा महानगरले गर्दै आएको सचेतना कार्यक्रमको विधि परिवर्तन गर्ने बताउनु भएको थियो । कार्कीले हालको आर्थिक वर्षमा नगर विकास कोष बाट नभएर वडाबाट पुनर्स्थापना केन्द्रमा आर्थिक सहयोग पठाएकोमा अर्को आर्थिक वर्षदेखी नगर कोषबाट सहयोग उपलब्ध गराउने बताउनु भएको थियो ।

रिकभरिङ्ग नेपालको कोशी प्रदेश समिति अध्यक्ष चन्द्र बरालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा संस्थाको केन्द्रीय सदस्य शुसिल रिजाल , कोशी प्रदेश सम्पर्क व्यक्ति निस्मा नेपाल , महानगर न्यायिक समिति सदस्य सुनिता पौडल , महानगरका स्वास्थ्य विभागका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

 

 

Back to top button