गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्दा तल्लो क्षेत्रमा बाढी

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खस्दा तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

स्थानीयले ताल फुटेको भन्दै खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल क्षेत्रमा पुगेको थियो । उक्त टोलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी दिएको हो ।

बाढीले एउटा कच्ची पुल बगाएपनि थप क्षतिको सम्भावना नरहेको प्रहरीले जनाएको छ । बाढीले क्षति पुर्‍याउन सक्ने सम्भावित क्षेत्रमा सतर्क रहन जिल्ला प्रशासनले अनुरोध गरेको छ । तालबाट निस्केको पानी बूढीगण्डकी नदीमा मिसिने भएकाले अहिले बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ ।

Back to top button