राष्ट्रियसभा उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ ।
आज विज्ञप्ति जारी गर्दै उहाँले आफू पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्न पार्टीको जिम्मेवारीबाट अलग भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानून र राष्ट्रिय सभा नियमावलीले निर्देशित काम तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । २८ चैत्रमा घिमिरे नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
आज आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरूले बोलेको कुरामा विभिन्न टिकाटिप्पणी र हतोत्साहित गर्न नहुने बताउनुभयो ।
उहाँले महिला सांसदहरूको क्षमतामाथि समेत प्रश्न उठाइने गरेको भन्दै त्यसो गर्नु नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो,‘व्यक्तिको बोल्ने तरिका फरक–फरक हुन्छ । कतिपय महिला सांसदहरूले बोलेको कुरालाई भावमा बुझ्न म आग्रह गर्छु ।’

Back to top button