प्रतिष्ठित मानवअधिकार पुरस्कार डा.परियारलाई

काठमाडौं । मानवअधिकार क्षेत्रमा देशको सर्वाधिक प्रतिष्ठित कर्मयोगी ‘बद्री पहाडी समाजसेवा पुरस्कार—२०८०’ डा.विष्णुमाया परियारलाई प्रदान गरिएको छ । मानवअधिकार, सामाजिक न्याय र नागरिक सशक्तीकरण क्षेत्रमा डा.परियारले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउनुभएको छ ।

मानवअधिकार तथा शान्ति समाजले हरेक वर्ष यो पुरस्कार दिन्छ । यसको राशि १ लाख १० हजार रुपैयाँ छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विशेष समारोहमा उहाँलाई प्रशंसापत्र र पुरस्कार हस्तान्तरण गर्नुभएको हो । समारोहमा ठूलो संख्यामा देशका विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

मानवअधिकार एवं सामाजिक न्यायका क्षेत्रका विशिष्ट योगदान पुर्‍याउनेलाई प्रत्येक वर्ष कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिँदै आएको शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले जानकारी दिनुभयो । दलित गरिव बालबालिका तथा महिलाको उत्थान र अधिकारका २५ वर्षदेखि अभियन्ता डा. परियारले काम गर्दै आउनुभएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकार, सामाजिक न्याय, समानताका लागि समेत उहाँ क्रियाशील हुनुहुन्छ ।

डा.परियारले आफूले पाएको पुरस्कार मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएका अभियन्ता तथा अधिकारकर्मीमा सम्पर्ण गर्नुभएको छ ।
उहाँले प्राप्त पुरस्कार राशि बालबालिका तथा महिलाको उत्थानमा खर्च गर्ने घोषणासमेत गर्नुभएको छ ।

प्रतिष्ठित अमेरिकी प्रकाशन गृह म्याकग्र हिलद्वारा प्रकाशित विश्वव्यापी पाठ्यपुस्तक ‘दि राइटर्स माइन्डसेट’मा डा.परियारबारे लेखिएको एउटा पाठ छ । गोरखाको दुर्गम गाउँको गरिब दलित परिवारमा जन्मिनुभएकी उहाँ पिसकर्पको सहयोगमा कसरी यो ठाउँमा पुग्नुभयो भन्ने वृत्तान्त त्यसमा समेटिएको छ ।

उहाँले प्रतिष्ठित दर्जनौं अन्तर्राष्ट्रिय पुरस्कार पाइसक्नुभएको छ । ‘विदेशमा धेरै पुरस्कार र सम्मान पाएँ, ती सबैभन्दा मातृभूमिमा पाएको पुरस्कार र सम्मानले मेरो जीवनमा विशेष महत्व राखेको छ’, पुरस्कार पाएपछि भावुक हुदै उहाँले भन्नुभयो,‘मानवअधिकार र सामाजिक न्यायका लागि मेरो लडाइँलाई अझ उचाइमा पुर्‍याउन यसले हौसला दिएको छ ।’

डा.परियारले विभेदविरुद्ध गाउँदेखि सुरु गरेका संघर्षले अमेरिकासम्म चर्चा कमाउनुभएको छ । उहाँले कार्यक्रममा भन्नुभयो,‘मेरो माता र पिताले मलाई दिएकोजस्तै अवसर र स्वतन्त्रता पाउने हो भने सबै छोरीले हरेक क्षेत्रमा सफलता हासिल गर्छन्।’

सन् १९७३ को डिसेम्बर १९ मा गोरखामा जन्मिनुभएकी डा.परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न छ। अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेट अफ नेपाल (एड्वान)की संस्थापक अध्यक्ष डा.परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । पाइन म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि.लिट (डक्टर अफ लेटर्स)बाट उहाँलाई सम्मान गरेको थियो । उहाँका दुई वटा कृति प्रकाशित छन् ।

समारोहमा बोल्दै पुर्वप्रधानन्यायाधीश कार्कीले डा.परियारको सफलताको कथा सुनेर खुसी लागेको बताउनुभयो। ‘जीवनमा कडा परिश्रम एवं क्षमताले मात्रै उपलब्धि हासिल हुन्छ भन्ने उदाहरण हुन् डा.परियार’, उहाँले भन्नुभयो,‘समाजिक न्याय र मानवअधिकार सुनिश्चितताका लागि समाजमा शिक्षा र सचेतनाको आवश्यकता छ।’

यस्तै, उपसभामुख इन्दिरा रानामगरले धर्म, जात, सम्प्रदाय, बोलीको आधारका कसैले कसैलाई छुवाछूत, दुव्र्यवहार, हेलाँ गर्नु नहुने बताउनुभयो । त्यस्ता भेदभाव र छुवाछूतविरुद्ध डा.परियारको आन्दोलनको उदाहरण यसमा प्रस्तुत गर्नुभयो ।

Back to top button