कतारका राजा आज नेपाल आउँदै, भ्रमण फलदायी हुने

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा पहिलोपल्ट उहाँ नेपाल आउन लाग्नुभएको हो ।

दुई विशेष विमानमा आउने कतारी राजाको टोलीमा केही मन्त्री र सरकारी उच्च अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँको भ्रमण तयारीका लागि सरकारी तथा सुरक्षा अधिकारीहरूको ठूलो टोली हिजो नै काठमाडौं आइसकेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिरले आएकै दिन राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने भोलि (बुधबार) द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने भएको छ ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कतारसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको २० वर्षपछि सन् १९९८ मा नेपालबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको भ्रमण गर्नुभएको थियो । पछिल्लो पटक सन् २०१८ अक्टोबर ३० देखि नोभेम्बर २ सम्म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको राजकीय भ्रमण गर्नुभएको थियो । यसबीच, अरू उच्चस्तरको भ्रमण नेपालबाट भएको छ ।

नेपालीका लागि कतार रोजगारीको एक प्रमुख गन्तव्य हो। त्यसैकारण पनि अमिरको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । सरकारी तथ्यांकअनुसार साढे ३ लाख नेपाली श्रमिक कतारमा कार्यरत छन्। नेपालका लागि कतार करिब २ दशक यतादेखि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहँदै आएको छ ।

यो भ्रमणले नेपाल र कतारबीच रणनीतिक विकास साझेदारका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार नेपालको पर्यटन, जलविद्युत् स्वास्थ्य, शिक्षा, खेलकुद, श्रम, संस्कृतिलगायतका क्षेत्रमा द्विपक्षीय समझदारी गर्ने गरी तयारी भइरहेको छ।

यस्तै, आज कतारका अमिर आउने भएपछि नेपाल सरकारले उहाँको सम्मानमा सार्वजनिक बिदा समेत दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको थियो ।

तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उड्नुभएका कतारी अमिर बंगलादेश हुँदै नेपाल आउने हुनुभएको हो । उहाँ भोलि बुधबार बेलुका नै कतार फर्कने तालिका छ ।

Back to top button