कतारका राजालाई स्वागत गरौं, नेपालमा राजसंस्था पुनर्स्थापना गर्न ढिला नगरौं : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीलाई नेपालमा स्वागत गर्न आह्वान गर्नुभएको छ ।

उहाँले कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि आज दिएको सार्वजनिक बिदाले राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताउनुभएको हो ।

‘लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ । कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिइने कार्यक्रम छ ।’ लिङ्देनले प्रशंसा गर्दै भन्नुभयो,‘नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो ।’

उहाँले हिनताबोध नगरी नवीन समझदारी गर्न आग्रह गर्नुभयो । नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,‘हिनताबोध नगरौँ , नवीन समझदारी गरौं, नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गरौँ ।’

Back to top button