झापामा मोटरसाइकल दुर्घटना हुँदा सवार ३ जनाको मृत्यु

विर्तामोड । झापाको शिवसताक्षीमा मोटरसाइकल दुर्घटना हुँदा सवार तीनै जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिलेमा आज बिहान साढे ५ बजेको समयमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सीसीको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एक आपस ठोक्किँदा दुर्घटना भएको थियो ।

मोटरसाइकलमा सवार ३ जनामध्ये २ जनाको घटनास्थलमै र १ जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मृतक तीनै जना युवा हुन् । उनीहरूको पहिचान खुलेको छैन।

उनीहरू त्यहीका स्थानीय हुन सक्ने प्रहरीले जनाएको छ । उनीहरूको पहिचानका लागि परिवारजन हस्पिटलतर्फ गइरहेको जनाइएको छ । यता दुवै सवारीसाधनसहित बोलेरो चालक मेचीनगर नगरपालिका–६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेल नियन्त्रणमा लिएको छ ।

Back to top button