एमाले उम्मेदवार भण्डारीका बुवाको गरियो दाहसंस्कार

बझाङ । बझाङ प्रदेशसभा क्षेत्र नम्बर–१ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीको बुवाको दाहसंस्कार गरिएको छ । एमाले उम्मेदवार भण्डारीका बुवा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा हिजो बिहान निधन भएको हो ।

आज भ्यागुते खेलाको सेती दोभानमा उहाँको अन्तिम संस्कार गरिएको हो । उहाँको पार्थिव शरीरमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा,पोलिट ब्युरो सदस्य राजेन्द्र रावल र केन्द्रीय सदस्य ऐन महरले सामूहिक रुपमा पार्टीको झण्डा ओढएर श्रद्धाञ्जली दिनुभएको थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै स्थायी कमिटी सदस्य कर्ण थापाले शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनुभएको थियो । ‘आगामी १५ गते यहाँ उपनिर्वाचन हुँदैछ निर्वाचन उत्कर्षमा पुगेको बेला यस्तो दुःखद घटना सुन्नु परेको छ’ थापाले भन्नुभयो,‘यो शोकलाई अब शक्तिमा बदल्नु पर्छ । सबै जुटौं। लागौं।’

२०७९ मंसिरको निर्वाचनमा बझाङ–१ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको २०७९ असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

यहाँ एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । एमालेबाट दमन भण्डारी उम्मेदवार हुनुहुन्छ भने काङ्ग्रेसबाट अभिषेक सिंह उम्मेदवार हुनुहुन्छ । अभिषेक स्वर्गीय सिंहको छोरा हो ।

Back to top button