वीरगन्जमा मोटरसाइकल एकआपसमा ठोकिँदा युवकको मृत्यु

वीरगन्ज । वीरगन्जमा आज बिहान तीव्र गतिमा रहेका दुईवटा मोटरसाइकल एकआपसमा ठोकिँदा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२५ मौजे सिर्सियाका २५ वर्षीय अर्जुन पटेल रहेको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका–२५ मौजे सिर्सियामा आज बिहान सिर्सियाबाट ड्राइपोर्ट तर्फ जाँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल चालक पटेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका पटेलको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताउनुभयो ।

उक्त दुर्घटनामा ना १८ प ९८१६ नम्बरको मोटरसाइकलका चालक मौजे सिर्सियाकै १५ वर्षीय कन्हैया चर्तुवेदी, २० वर्षीय आकाश पटेल र १५ वर्षीय सामा पटेल घाइते हुनुभएको छ ।

घाइते तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । दुर्घटनामा परेका दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Back to top button