राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेकोमा प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद्को बैठक होटलमा राखेकोमा प्रधानमन्त्री तथा आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाउनुभएको छ ।

आज आयोगले १६औं योजनाको मस्यौदामाथि छलफल गर्न राजधानीको एक होटलमा बैठक राखेको थियो ।

बैठकलाई सम्बोधन गर्ने क्रममा होटलमा कार्यक्रम आयोजना गरिएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो,‘म कार्यक्रममा आउँदै गर्दा योजना आयोगका उपाध्यक्षलाई मैले सोधें, किन होटलमा कार्यक्रम राखेको, सिंहदरबारमा हाम्रो छँदैछ नि, ४१३ पनि छ, अर्को ठूलो हल पनि छ ।’

बैठकमा सामूहिक छलफलको समेत कार्यक्रम राखिएका कारण स्थान अपुग हुने भएर होटलमा कार्यक्रम राखिएको जवाफ उपाध्यक्षले दिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘यस पटक त भयो, आगामी दिनमा यस्ता सबै कार्यक्रम सिंहदरबारमै गरौं, त्यहाँ जति पनि ठाउँ छ ।’

Back to top button