परिसंघ युवा उद्यमी परिषद्ले ‘ युवा विकास र अवसर ‘ बिषयक कार्यक्रम गर्दै

विराटनगर : नेपाल उद्योग परिसंघ युवा उद्यमी परिषद् कोशी प्रदेशले ‘ नेपाली बजारमा युवा विकास र अवसर ‘ बिषयक कार्यक्रम गर्ने भएको छ। परिषद्ले बैशाख १६ गते विराटनगर स्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा कार्यक्रम आयोजना गर्ने भएको हो।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै परिषद्का कोशी प्रदेश कार्यवाहक अध्यक्ष मुनन रिजालले हाल देशमा युवाहरु विदेश पलायन भइरहेको अवस्थामा समस्यालाई न्यूनीकरण गर्ने उदेश्यसाथ कार्यक्रम गर्न लागिएको बताउनु भएको थियो। रिजालले युवा पलायनले देशमा अदक्ष सँगै दक्ष जनशक्तिको अभाव समेत देखिने थालेको अवस्थामा कार्यक्रमले युवावर्गलाई सकारात्मक प्रभाव पार्ने विश्वास राखेको धारणा व्यक्त गर्नु भएको थियो।

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले देशको अर्थतन्त्र शिथिल रहेको अवस्थामा यस कार्यक्रमले नेपालमा समेत प्रशस्त अवसर रहेको सन्देश दिन समेत कार्यक्रम आयोजना गरेको बताउनु भएको थियो। उहाँले कार्यक्रमले युवाहरुमा नेपालमा उद्यम व्यवसायको अवस्था , रोजगारीको अवस्था र अवसरको बिषयमा जानकारी दिने बताउनु भएको थियो।

रिजालका अनुसार कार्यक्रममा युवावर्गसँग अन्तरक्रिया कार्यक्रम साथै रोजगारीको लागि इच्छुक युवाहरुलाई विभिन्न क्षेत्रका उद्यमीसँग साक्षात्कर समेत गराइने छ। परिषद्ले बैकिङ्ग क्षेत्र बाट सन्तोष राठी , औधोगिक क्षेत्र बाट गिरिजा सारडा , होटल तथा पर्यटन क्षेत्र बाट राजन श्रेष्ठ ,श्रम तथा रोजगार क्षेत्र बाट रिता खतिवडा र चिकित्सा क्षेत्र बाट डेनिस कार्कीसँग साक्षात्कर गराउने तयारी गरेको छ।

त्यस्तै , कार्यक्रमको मुख्य वक्ताको रुपमा विराट मेडिकल कलेज टिचिंग अस्पतालका संस्थापक डा ज्ञानेन्द्र कार्कीले युवाहरुलाई किन नेपाललाई आफ्नो रोजगारीको गन्तव्य बनाउने बिषयमा ‘कि-नोट स्पीच’ दिनु हुने छ।

Back to top button