आजबाट कक्षा १२ को परीक्षा सुरु

काठमाडौं । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका १ हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो ।

बोर्डले देशभर १ हजार ५ सय २५ र देशबाहिर जापानमा एक गरी कुल १ हजार ५ सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको थियो । जापानको परीक्षा केन्द्रमा पनि इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको छ ।

बोर्डका अध्यक्ष डा. शर्माले भन्नुभयो,‘कक्षा १२ को परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शान्तिपूर्ण रूपमा सुरु भएको छ । विद्यार्थी उत्साहका साथ परीक्षामा सहभागी भएको जानकारी पाएका छौँ ।’

यो वर्ष परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ १ लाख ६ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

कुल १ हजार ५ सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेकामा सबैभन्दा बढी काठमाडौँमा १ सय ४४ र मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति र १८ हजार ३ सय प्रहरी परिचालन भएका छन् । यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’को व्यवस्था गरेको छ ।

Back to top button