इलाम उपनिर्वाचनः मतगणना ११ बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति

विराटनगर । हिजो सम्पन्न उपनिर्वाचनको मतगणना कार्य इलाम–२ मा आज ११ बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको छ । विहान गौतम बुद्ध सभागृह (सिटी हल) मा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताउनुभयो । निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिलाई टेकेर सहमति गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

राति दुई बजेमात्र मतपेटिका संकलन कार्य सम्पन्न भएपछि विहान सर्वदलीय बैठक बसेको हो । मतगणना सिटी हलमा हुनेछ । इलाम–२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले हिजोको निर्वाचनमा मतदान गरेका छन् । यो करिब ६० प्रतिशत हो । इलाम–२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Back to top button