नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटनसत्रमा बोल्दै लगानी बोर्डका उपाध्यक्षसमेत रहनुभएका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको प्रष्ट्याउनुभयो ।

उहाँले आफूहरूको आह्वानमा लगानीको अवसर र सम्भावना खोज्न आउने पाहुनाप्रति आभार व्यक्त गर्दै नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरूबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

उहाँले सम्मेलनका दौरान लगानीकर्ता र सरोकारवालाबीच धेरै सम्झौता हुने विश्वास लिइएको बताउनुभयो । सम्मेलन नीति निर्माताहरू, लगानीकर्ताहरू, विशेषज्ञहरू र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि नेटवर्किङ गर्ने अवसरमा रुपान्तरण हुने विश्वास मन्त्री पुनले ब्यक्त गर्नुभयो ।

नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको मन्त्री पुनले बताउनुभयो ।

उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवद्र्धनमा जोड दिएको उहाँको भनाइ छ । नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको मन्त्री पुनले दावी गर्नुभयो ।

सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक,निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको भन्दै उहाँले नेपालको प्रचुर लगानीको सम्भावनालाई उजागर गर्न र दिगो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास ब्यक्त गर्नुभयो ।

Back to top button