नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि स्वागत गर्ने देश होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश भएको बताउनुभएको छ ।

आजदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो ।’ लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको भन्दै उहाँले त्यसकै लागि हालै मात्र सरकारले कानून परिमार्जन गरेको उल्लेख चर्चा गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो द्विपक्षीय लगानी सम्झौता (बीआईए) मा हस्ताक्षर गर्न समेत आह्वान गर्नुभयो । नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको र तीव्र रुपमा विस्तार भएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिको अपार सम्भावना देखाएको प्रधानमन्त्री प्रचण्डको तर्क थियो ।

Back to top button