स्थिर सरकार बिना मुलुकको आर्थिक विकास सम्भव छैन : डा. कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकास सम्भव नहुने बताउनुभएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थिर सरकार नभएकै कारण सोचेजस्तो मुलुकको विकास हुन नसकेको उहाँको भनाई थियो ।

अहिलेको निर्वाचन प्रणाली रहेसम्म स्थिर सरकार बन्न नसक्ने तर्क गर्दै कोइरालाले भन्नुभयो, ‘अहिलेको निर्वाचन प्रणाली रहेसम्म कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन । बहुमत नआउँदा अहिलेकै जस्तो सरकार बनाउने र गिराउने खेल चलिरहन्छ । जसले गर्दा मुलुकको विकासमा अवरोध पुग्दछ,’ । सरकार फेरिएपिच्छे ‘पोलिसी’ पनि फेरिने हुँदा विकासमा असर पर्ने उहाँले बताउनुभयो ।

स्थिर सरकार बनाएर सुशासन दिन सक्दा मात्र देशको विकासले गति लिने भन्दै उहाँले देशको विकासका लागि संविधान संशोधन गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्नेमा समेत बताउनुभयो । कांग्रेस र एमाले एकठाउँमा नउभिएसम्म संविधान संशोधन नहुने तर्क गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको संविधान संशोधन गर्न दुई तिहाई आवश्यक पर्छ । त्यो कांग्रेस र एमाले मिल्दा मात्रै सम्भव छ ।’ उहाँले संविधान जारी गर्दा कांग्रेस र एमाले मिले झै अब पनि देशलाई केन्द्रबिन्दुमा राखेर दुईटा दल मिल्नुपर्नेमा जोड दिनुभयो ।

मुलुक आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक र सांस्कृतिक रुपमा कमजोर बन्दै गएको भन्दै नेता कोइरालाले चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले अधिकारसहितको संघीयता नभएकै कारण जनतामा प्रदेशप्रति वितृष्णा बढेर गएको बताउनुभयो । उहाँले स्थिर सरकार बनाउन निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । स्थिर सरकार नबनेकै कारण देशभित्र लगानी गर्न कोही पनि उत्सुक नभएको उहाँको भनाइ थियो ।

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, नेकपा एमाले मोरङ क्षेत्र नम्बर ६ का अध्यक्ष मकर बुढाथोकी, बूढीगंगा गाउँपालिकाका पूर्वअध्यक्ष बालचन्द माझीलगायतले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय योगमाया कार्की र सोहार्द कार्कीले निःशुल्क रुपमा उपलब्ध गराएको ८ कठ्ठा २ धुर जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत ११ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन चार तलाको हुने प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेले जानकारी दिनुभयो । भवन निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Back to top button