सबै चारपाङ्ग्रे विद्युतीय गाडी अब नेपालमै उत्पादन हुनेः चाईना र नेपाली कम्पनी बिच सम्झौता (भिडियो सहित)

विराटनगर । विद्युतीय सवारी साधनप्रती आकर्षण बढ्दै जाँदा अब नेपालमै सबै किसिमका चार पाङ्ग्रे सवारी साधन उत्पादन हुने भएको छ ।

एक वर्ष भित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका आज नेपालको कोशी एन के मोटर्स प्रा.लि. र चाईनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड बिच सम्झौता भएको हो ।

चाईनाको फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग स्थानीय ज्योतिष शास्त्र अनुसार बिहान १० बजेर १८ मिनेटमा सम्झौता पत्रमा दिपक्षीय हस्ताक्षर भएको हो ।

सम्झौतामा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशक (एमडी)ले हस्ताक्षर गर्नुभयो । उक्त अवसरमा कोशी एन केका एमडी टीआर ढकालको समेत उपस्थिति थियो ।

सम्झौता भएसँगै अब नेपालमा नै चाईनिज तथा कोरियन प्रविधिमा आधारीत चार पाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने सुनिश्चित भएको छ । नेपालमै पहिलो पटक सञ्चालनमा आउन लागेको यो कम्पनि मोरङको बुढीगंगा गाउँपालिकामा १५ विघा क्षेत्रफलमा संचालन हुनेछ ।

कम्पनीमा सुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने अध्यक्ष टिकाराम पुरीले बताउनुभयो । उहाँका अनुसार १ वर्ष भित्र सबै किसिमका चार पाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने छ । कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने छ ।

विश्वबजारमा स्थापित रहेको स्यामन गोल्डन ड्रगन अटोबडी कम्पनीले चारपाङ्ग्रे सवारी र त्यसका पार्टसहरुको उत्पादन गर्दै आएको छ । उच्च गुणस्तरीय र नविन उत्पादनमा ख्यातिप्राप्त उक्त कम्पनीले बस, कोच, र व्यावसायिक सवारीसाधनहरु सहित विभिन्न प्रकारका सवारी साधनका पार्टस्हरु उत्पादन गर्ने गरेको छ ।

अध्यक्ष पुरीले उक्त कम्पनीसँगको सहकार्यले नेपालमै गुणस्तरीय र नविन विद्युतीय सवारीसाधन उत्पादन र बजारीकरण गर्न मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

Back to top button