इलाम २ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ ।
नेकपा माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बन्नुभएका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३ सय ७४ मतमध्ये ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । लिम्बुले पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उहाको जमानत (धरौटी) जफत भएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । उहाँका  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै उहाँ  विजयी हुनुभएको हो ।

सुहाङ २७ हजार ७ सय ७२ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत पाउनुभएको छ ।

यस्तै, निर्वाचन ऐनमा प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारहरुले १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकतर्फको चुनावमा ५० हजार रुपैयाँ निर्वाचन आयोगमा बुझाउनुपर्छ । तर, प्रत्यक्षतर्फको चुनावमा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट पाइन्छ ।

Back to top button