एमाले अध्यक्ष ओली इलाम जानुहुँदै, विजय सभालाई सम्बोधन गर्नुहुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज इलाम जाँदै हुनुहुन्छ । इलाम–२ उपनिर्वाचनमा विजयी भएको उपलक्ष्यमा नेकपा एमालले आज दिउँसो १ बजे इलामबजारमा विजय सभा गर्ने भएको छ । सो विजय सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम जान लाग्नुभएको हो।

इलाम बजारमा दिउँसो १ बजे हुने सभामा पार्टी अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ । इलाम बजारको सभा सकेपछि नवनिर्वाचित संघीय सांसद सुहाङ नेम्बाङ इलाम २ का सबै पालिकामा मतदातालाई धन्यवाद ज्ञापनका लागि पुग्नुहुने छ ।

एमाले उम्मेदवार नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित इलाम २ मा विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाउनुभएको छ ।

त्यहाँ पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) मतगणनामा तेस्रो हुनुभएको छ । उहाँले ११ हजार ४ सय ५७ मत पाउँदा निर्वाचनमा चौथो हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गर्नुभएको छ ।

Back to top button