सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने हुनुभएको छ । आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो ।

बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिनुभयो । उहाँकाअनुसार नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ ।

सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने छ । नाउपा प्रदेश सभा सदस्य टीका थापालाई आज नै मन्त्रीमा नियुक्त गरेर सपथ ग्रहण गराउने समझदारी भएको धामीले बताउनुभयो ।

बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहनुभएका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी हुनुहुन्थ्यो ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाउनुभएका सोडारीले अरु मन्त्रालय आफैंसँग राख्नुभएको छ ।

यस्तै, एमाले र माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी हुन सोडारीले आग्रह गर्नुभएको छ । तर, उनीहरु दुवै दलले विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने जवाफ फर्काएको स्रोतको भनाइ छ ।

Back to top button