कोशी साझा नाम हो, भुलभुलैयामा नपर्नुस् : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भएको बताउनुभएको छ । इलाम–२ मा आयोजित विजय सभालाई आज सम्बोधन गर्दै उहाँले कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न आग्रह गर्नुभयो ।
‘हामी कैयौं जात, कैयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ’ ओलीले भन्नुभयो,‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’

अध्यक्ष ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी सबै नेपाली हो । पहिले पनि मेची, कोशी, बागमती लगायत अञ्चल थिए । यसरी साझा नाम राख्दा कसैलाई हेपेको हुँदैन । कसैको पहिचान मेटेको हुँदैन । तपाईंहरू भुलभुलैयामा नपर्नुस् ।’

यस्तै, ओलीले सुहाङ नेम्बाङलाई जिताउने इलामका मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पार्टीगत रूपमा साथ दिने नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो,‘इलामका सचेत जनतालाई धन्यवाद । कतिपय एमाले छोडेर एमाले हराउन लागेका थिए । हामीलाई तपाईंहरूले साथ दिनुभयो । माओवादी र विप्लवको पार्टीको साथको लागि धन्यवाद । सबै पार्टीका नेता र कार्यकर्तालाई धन्यवाद ।’

 अध्यक्ष ओलीले युवा पुस्ताका नेता सुहाङ नेम्बाङले जितेसँगै इलाम सबै हिसाबले अघि बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो,‘तपाईंहरूले सुहाङलाई जिताएर पठाउनुभयो । अब इलामको विकासको जिम्मा सुहाङले र सुहाङको जिम्मा म लिन्छु । यो जिल्ला अब सबै हिसाबले अगाडि बढ्यो, बढ्यो ।’

Back to top button