इलामबाट ओली भन्नुभयोः योद्धाको छोरा योद्धा नभएर के बाघको छोरा स्याल हुन्छ?

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्व.सुवास नेम्वाङ जनताका लागि लड्ने योद्धा भएको स्मरण गर्दै उहाँका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गर्नुभएको छ ।

उपनिर्वाचन अन्तर्गत इलाम–२ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङको विजयी सभालाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले ‘राजाको छोरा राजा’ भने सुहाङप्रति प्रहार भएको भन्दै सो आरोपको खण्डन गर्नुभयो। उहाँले भन्नुभयो,‘एमालेमा असन्तुष्टि हुन्छ, राजाको छोरो राजा हुन्छ । कहाँबाट सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो र राजाको छोरो राजा सुहाङ हुनु?’

अध्यक्ष ओलीले सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष, एउटा सांसद र जनताका लागि लड्ने योद्धा भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘उहाँ त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्धा हुनुहुन्थ्यो। योद्धाको छोरा योद्धा नभएर, बाघको छोरा बाघ नभएर स्याल हुन्छ त?’

अध्यक्ष ओलीले नेकपा एमालेले इमान, वाचा र नैतिकताका बन्धनलाई महत्त्व दिने बताउनुभयो। उहाँले एमालेले जे बोल्ने त्यो गर्ने भन्दै इमान र नैतिकताको बन्धनलाई एमालेले तोड्न नसक्ने बताउनुभयो। उपनिर्वाचन र एमाले उम्मेदवार सुहाङ नेम्वाङबारे उठेका प्रश्नको जवाफ उपनिर्वाचनको परिणामले दिएको अध्यक्ष ओलीले बताउनुभयो।

पुर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले देशको आर्थिक अवस्था उकास्ने, सुशासन, विकाससम्बन्धी नीति नेकपा एमालेसँग मात्र भएको दाबी समेत गर्नुभयो ।

Back to top button