वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध टी–२० श्रृंखलाको चौथो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले विकेट लिनुभएको हो ।

९ ओभरमा भुर्तेलको बलमा जोनसन चार्ल्सलाई दीपेन्द्र सिंह ऐरीले क्याच आउट गराउनुभएको हो । चार्ल्सले ३० बलमा ५८ रनको योगदान गर्नुभयो ।

त्यस अगाडि प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा विकेट लिनुभएको थियो । वेष्ट इण्डिज ‘ए’का उपकप्तान एलिक अथान्जे जिसीको बलमा सन्दीप जोराले क्याच आउट गराउनुभएको हो । अथान्जे ७ बलमा ५ रन बनाएर बाहिरिनुभयो।

वेष्ट इण्डिज ‘ए’ले १० ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १०१ रन बनाएर खेलिरहेको छ । वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर नेपाललाई बलिङको निम्तो दिनुभएको हो ।

यसअघि सम्पन्न तीनवटा खेलमा नेपालले एउटा र वेस्ट इन्डिजले दुईवटा खेलमा विजयी भएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछिका खेलमा नेपाल १० रन र ७६ रनले पराजित भएको हो ।

सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्ने दबाब छ । नेपालले अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणासमेत गरिसकेको छ । आगामी जुन २ बाट सुरु हुने आईसीसी टीट्वेन्टी विश्वकपको तयारीका लागि नेपालले वेष्ट इण्डिजसँग शृंखला खेलेको हो ।

Back to top button