सुकुम्बासी बस्तीमा डोजर चलाउन रोकौं : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले सुकुम्बासीलाई व्यवस्थापन गर्न छोडेर डोजर चलाएर आतंक नमचाउन आग्रह गर्नुभएको हो ।

‘प्लास्टिकको छाप्रो रहेको सुकुम्बासी बस्तीमा हामीले डोजर देखाएर आतंक फैलाइरहेका छौं। डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या व्यवस्थापन गर्नतिर लागौं,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले संघ, प्रदेश र स्थानीय सरकारलाई सुकुम्बासी समस्या व्यवस्थापन गरेर समाधान गर्न आग्रह गर्नुभयो। ‘डोजर चलाउने गरिबका छोरा–छोरी नै हो। गरिबका छोरा–छोरीलाई गरिबविरुद्ध डोजर चलाउन रोकौं । धनीले डोजर चलाएको मैले थाहा पाएको छैन,’ उहाँले भन्नुभयो,‘तीनवटै सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ।’

उहाँले लोकतन्त्रमा जे पनि गर्न नमिल्ने बताउनुभयो। ‘अहिले हामी सरकारमा आएका छौं । तर विभिन्न बहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन्। जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु। लोकतन्त्रमा जे पनि गर्न मिल्दैन। सुकुम्बासी समस्या व्यवस्थापन गर्नुपर्छ। समाधान गरेर जानुपर्छ,’ उहाँले भन्नुभयो।

Back to top button