कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा पुनः बस्नेतको पदभार ग्रहण

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा पुनः कृष्ण बस्नेत (पर्शुराम)ले आज पदभार ग्रहण गर्नुभएको छ । उच्च अदालतको आदेशपछि संस्थापक सदस्य सचिव बस्नेतले आज मध्यान्न पदभार ग्रहण गर्नुभएको हो ।

तत्कालिन मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा प्रदेश सरकार मन्त्रीपरिषदको २०७८ असोज २४ को निर्णय अनुसार सोहि असोज २५ गते प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ को खण्ड ‘अ’ बमोजिम बस्नेतलाई प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पदमा नियुक्त गरिएको थियो ।

चार वर्षीय कार्यकालका लागि नियुक्त हुनुभएका बस्नेतलाई परिवर्तित सत्तासमिकरणपछि २०७८ चैत २२ मा पदबाट हटाइएको पत्र थमाइएको थियो । उक्त निर्णय विरुद्ध अदालत पुग्नुभएका बस्नेतको निवेदन माथि अदालतले परमादेश जारी गर्दै बस्नेतलाई सदस्य सचिवको रुपमा काम काज गर्न दिनु, वाधा अवरोध नगर्नु भनि परमादेश गरेको हो ।

तत्कालिन प्रदेश सरकारले बस्नेतलाई हटाउँदै हंसराज वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । अदालतको आदेशसँगै पदभार ग्रहण गर्नुभएका बस्नेतले अदालतले त्रुटि सच्याएर विधिको शासनको प्रत्याभूति गराएको बताउनुभयो ।

उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै तत्कालिन भीम आचार्य नेतृत्वको सरकारले आफूलाई संस्थापक सदस्यसचिवको रुपमा नियुक्त गरेपनि त्यसपछिको सरकारले प्रतिशोध राख्दै हटाएपनि त्यसलाई अदालतले सच्याउने काम गरेको बताउनुभयो । उहाँले अदालतलेको आदेश पालना गर्दै आफूले आजबाट पदभार ग्रहण गर्दै कामकाज सुरु गरेको बताउनुभयो ।

उहाँले आफु पदमा रहँदासम्म खेलाडीको मनोबल उच्च बनाउने, नयाँ खेलाडी उत्पादन गर्ने तथा पूराना खेलाडीको सम्मान गर्ने बताउनुभयो । खेलाडीलाई खेलेर बाँच्न सक्ने वातावरण बनाउन प्रयत्नशिल रहने बताउँदै बस्नेतले खेलाडी राष्ट्रको गहना नभई गौरव हो भन्ने मान्यता स्थापित गर्न लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘म यो कुर्सिमा रहुन्जेल कुनै लोभलालच नराखी खेलाडी र खेलक्षेत्रको विकासमा लाग्नेछु ।’

Back to top button