सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य : एमाले अध्यक्ष ओली

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेशका जनतालाई स्वास्थ्यलयागतका सेवा दिन सडक सञ्जालको विकास अपरिहार्य रहेको बताउनुभएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पतालको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने बताउनुभयो । उहाँले सबैभन्दा पहिला सडकसञ्जाल निर्माणमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘आज अस्पताल उद्घाटन भयो यदि यहाँ सडक नभएमा नागरिक कसरी आउँथे? सडक भएकाले यहाँ बनेको यो अस्पतालबाट जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउनेछन् ।’

तराई मधेशमा पूर्वपश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको सुरुआत गरिएको उहाँको भनाई थियो । पूर्वप्रधानमन्त्री अध्यक्ष ओलीले कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न नौमुरे सिँचाइ योजनालाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिनुभयो।

‘०६३ सालमा म पराराष्ट्रमन्त्री हुँदा कपिलवस्तुको सिँचाइ समस्या समाधानका लागि नौमुरे योजनाको प्रस्ताव भारतमा लगेको थिए । त्यसलाई फेरि अगाडि बढाउन जरूरी छ’, अध्यक्ष ओलीले भन्नुभयो।

कपिलबस्तु र सिङ्गो नेपालको विकासका लागि कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोगगरी व्यावसायिक कृषिलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पर्यटन विकासका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोगलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने उहाँको भनाई थियो। देशभरका ३ सय ९६ वटा अस्पताल एकै पटक शिलान्यास गरेको र त्यसमध्येका एउटा अस्पतालको आज उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको ओलीले बताउनुभयो।

Back to top button