रंगेलीमा पुरुषको शव फेला

विराटनगर । मोरङको रंगेली नगरपालिका–२ बिरान टोलस्थित धान खोतमा आज बिहान १ जना पुरुषको शव फेला परेको छ ।

मृत फेला परेका अन्दाजी ३५–४० वर्षीय पुरुषको पहिचान खुलेको छैन । धान खेलमा पुरुष मृत फेला परेको जानकारी स्थानीयले प्रहरीलाई बिहान ७ बजेतिर दिएका हुन् ।

तत्काल घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पुर्‍याएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले मृत फेला परेका पुरुषको सनाखत भइनसकेको जानकारी दिनुभयो ।

‘मृतकको नाम, थर र वतन खुलेको छैन । सबैतिर हुलिया परिपत्र गरेर पहिचानको प्रयास भइरहेको छ,’उहाँले भन्नुभयो,‘प्रहरीलाई प्राप्त जानकारी अनुसार मृतक स्थानीय होइनन्। घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

उहाँका अनुसार घटनास्थलको प्रकृति हेर्दा तत्काललाई घटना शंकास्पद देखिँदैन । मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएकाले अनुसन्धानबाट घटनाको वास्तविकता पत्ता लाग्ने बस्नेतले बताउनुभयो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

Back to top button