जेठ १ गते बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ १ गते बस्नेगरी स्थगित भएको छ ।

आज दोस्रोपटक बसेको बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनुभएको थियो ।

आफूमाथि उठेको प्रश्नको जवाफ दिनका लागि समय मागेको भन्दै सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई समय तोक्नुभएको थियो ।

त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेका थिए । उनीहरूले गृहमन्त्री लामिछानेलाई रोस्टम जानबाट रोकेका थिए ।

निरन्तर नाराबाजी भएपछि सभामुख घिमिरेले जेठ १ गते साँझ ६ बजे बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।

यसअघि आजै बसेको पहिलो बैठक पनि कांग्रेस अवरोधका कारण स्थगित भएको थियो ।

सहकारी हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै कांग्रेस सांसदहरूले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

Back to top button