एभरेष्टमा निर्वाचित २३६ विद्यार्थी नेताको सपथग्रहण सम्पन्न

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका विभिन्न तहमा निर्वाचित विद्यार्थी नेताहरुले आज एक समारोहका बिच सपथग्रहण गर्दै कार्यभार सम्हालेका छन् ।

यस शैक्षिक सत्रका लागि भएको विभिन्न निर्वाचनबाट विभिन्न तहका विद्यार्थी नेताहरुलाई आज विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले सपथग्रहण गराउनुभएको हो ।

कार्यक्रममा प्राथमिक तह, मध्यम तह, माध्यामिक तहका गरि विभिन्न पदमा २३६ जना विद्यार्थी नेता निर्वाचित हुनुभएको थियो । विद्यालयकी अतिरिक्त कृयाकलाप ईन्चार्ज सुधा डंगोलका अनुसार आधारभुत र माध्यामिक तहबाट दुई जना प्रिफेक्ट र दुई जना डिपुटी प्रिफेक्ट निर्वाचित हुनुभएको थियो ।

यस्तै प्राथमिक, मध्यम र माध्यामिक तहबाट चार हाउसका क्याप्टेन तथा भाइस क्याप्टेन छानिएका छन् भने ५१ वटा कक्षाका लागि ५१ जना मनिटर र ५१ जना नै भाईस मनिटर चयन भएका छन् ।

यस्तै अतिरिक्त कृयाकलाप तर्फ फुटबल, बास्केटबल, पौडी, टेबल टेनिस, ताईक्वान्दो, स्काउट, नृत्य, संगीत र फाइन आर्टका कप्तान र सहायक कप्तान चयन भई सपथ ग्रहण गरेका छन् । कोर्ष सम्बन्धित कृयाकलापका प्राथमिक, मध्यम र माध्यामिक तहका गरि २२ वटा विधामा क्याप्टेन र भाईस क्याप्टेन गरि ४४ पदमा नेताहरु चयन भई सपथ गरेका हुन् ।

सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले निर्वाचित हुने नेतृत्वले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न शुभकामना दिनुभयो । नव निर्वाचिन माध्यामिक तहका प्रमुख (प्रिफेक्ट) प्रेम खतिवडाले आफ्नो जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने प्रयत्न गर्ने भन्दै विश्वको आवश्यकताका रुपमा रहेको अंग्रेजी भाषाको लागि उपयुक्त वातावरण तयार गर्ने बताउनुभयो ।

यस्तै आधारभूत तहकी प्रिफेक्ट अविज्ञा घिमिरेले आफ्नो तर्फबाट उच्च तहको भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा नव निर्वाचित विद्यार्थी नेतृत्वहरुलाई फुलको गुच्छा, खादा र अबिरले स्वागत गर्दै आ–आफ्नो तह अनुसारको ब्याचले सुशोभित गराइएको थियो । कार्यक्रममा विद्यालयका भाईस प्रिन्सिपलद्वय टीएन भण्डारी र नारायण कडरीया तथा विभिन्न तहका लेभल इन्चार्जहरुको सहभागिता रहेको थियो ।

Back to top button