
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान सभामुख घिमिरे संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।
प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरोध गरेकाले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई सभामुख घिमिरेले गम्भीररुपमा लिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो।
सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो,‘सभामुखले कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षष गराउनुभएको थियो।’
उहाँले दलहरूबीच सहमति नहुँदा बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताउनुभएको हो । ‘राजनीतिक दलहरूबीच सहमति नहुँदा संसदको बिजनेश प्रभावित भएको छ। यो राम्रो होइन,’ उहाँले भन्नुभयो,‘संवैधानिक संकट हुने अवस्था नआओस्।’
जवाफमा प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको र सतापक्ष–प्रतिपक्षसँग छलफल गरेर चाडै निकास निकाल्ने बताउनुभयो।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै हिजो बेलुका बसेको संसद बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले संसदीय छानबिन समिति माग गर्दै संसद अवरुद्ध पारेको हो । कांग्रेसले निरन्तर सदन अवरुद्ध पारेपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका कार्यक्रम हटाउँदै जेठ ३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
यस्तै, समिति गठन नभएसम्म अवरोध जारी राख्ने कांग्रेसको अडान छ ।







