प्रधानमन्त्री र एमाले अध्यक्षलाई भेट्दै सभामुख: सम्भव भए कांग्रेस सभापतिसँग पनि भेट्ने: संसदको गतिरोध हटाउने पहल

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त छलफल गर्ने हुनुभएको छ । सम्भव भएसम्म आजै नेपाली कांग्रेसका सभापतिसँग पनि भेट्ने तयारी सभामुखको छ ।

आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखले सदन खुलाउने विषयमा संयुक्त छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँग भेट गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ।

छलफलमा समयको व्यवस्थापन भए कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल हुनसक्ने जनाइएको छ। कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।

तर, गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको सदनबाट बोल्न नपाएसम्म समितिको पक्षमा नउभिने अडान राख्दै आउनुभएको छ । त्यसमा एमाले अध्यक्ष ओलीको बलियो साथ छ।

अवरोध हटाउने बिषयमा प्रधानमन्त्रीले आजै बिहान कांग्रेस सभापति देउवासहित शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ ।

Back to top button