शिक्षकलाई सम्मान र विद्यार्थीलाई पुरस्कृत गर्दै स्मृतिले मनायो वार्षिकोत्सब

विराटनगर । मोरङको बुढिगंंगा गाउँपालिका वडा नम्बर ३ मा रहेको स्मृति बोर्डिङ स्कुलले आफ्नो २१ औ वार्षिक उत्सव मनाएको छ।  २१ औ वार्षिक उत्सवमा सम्मान, पुरस्कार वितरण एवम् नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । जेष्ठ ६ गते स्थापना दिवस मनाउने स्मृतिले दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने शिक्षक तथा विद्यार्थीलाई सम्मान  गरेको हो ।

कार्यक्रममा विभिन्न विधामा योगदान गर्ने विद्यार्थीहरू मध्ये कक्षा १० का लभकुमार शर्मा र कक्षा ७ की रोशनी अधिकारीलाई स्टुडेन्ट अफ द इयरबाट पुरस्कृत गरिएको छ।शिक्षकहरू मध्ये शिक्षक अफ् द इयरबाट राजकुमार यादव र सुस्मिता दाहाललाई सम्मान गरिएको विद्यालयकी प्रिन्सिपल रिता न्यौपानेले जानकारी दिनुभयो ।

विद्यालयमा १० वर्षसम्म सेवा गर्ने शिक्षक करुणा विष्ट र निरन्तर ५ वर्ष सेवा गर्ने शिक्षकहरू कोपिला कर्माकार र बिन्दु खवासलाई सम्मान गरिएको छ।  विद्यालय आउँदा नियमित पोसाक लगाउने शिक्षकहरू विवेक दाहाल र श्रेया केसीलाई उत्कृष्ट शिक्षकको रूपमा सम्मान गरिएको  छ।
न्यौपानेका अनुसार विद्यालयको सबै नियम पालना गरेको भन्दै उत्कृष्ट विद्यार्थीको रूपमा कक्षा ३ बाट ४ मा गएका विद्यार्थीले रनिङ शिल्ड प्राप्त गरेका छन् ।  विद्यालयले उत्कृष्ट विद्यार्थीको रूपमा आदित्य राजवंशी, ईसिका न्यौपानेलाई पुरस्कृत गरेको छ।  कक्षा नर्सरीबाट एलकेजी, एलकेजीबाट युकेजी र युकेजीबाट कक्षा १ मा जाने सबै विद्यार्थीलाई प्रोत्साहन पुरस्कार, विद्यालयमा ४ जिपिए ल्याउने ५० जना, पालिकाले लिएको कक्षा ८ को परीक्षाबाट कक्षा ९ मा जाँदा ४ जिपिए ल्याउने २ जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको विद्यालयले जनाएको छ। त्यस्तै  विद्यालयको अनुशासित ६ जना र नियमित पोसाक लगाएर आउने ६ जना विद्यार्थीलाई पुरस्कृत गरिएको न्यौपानेले जानकारी दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक तथा प्रिन्सीपल न्यौपानेले  आफ्नो जीवन विद्यार्थीलाई सुम्पेको २१ वर्ष  पुरा भएको बताउनुभयो । उहाँले ५  हजार लगानी गरेर सुरु भएको यो अवस्थामा आईपुग्न विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीको ठूलो योगदान रहेको बताउनुभयो । विद्यालयले समेत शिक्षा प्रदान गर्ने विषयमा कुनै सम्झौता नगरेको बताउनुभयो ।

Back to top button