सगरमाथा आरोहणमा रहेका एक नेपालीसहित दुईजना बेपत्ता

विराटनगर । सगरमाथा आरोहणका क्रममा रहनुुभएका दुई जना वेपत्ता हुनुभएको छ । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहनुभएको छ ।

हिजो सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता हुनुभएको पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिनुभएको छ ।

चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवै जना बेपत्ता भएको उहाँले जानकारी दिनुभएको हो । विभागका अनुसार उहाँहरुले जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किनुभएको थियो ।

वातावरण अनुकूल भएको अवस्थामा दुवै जना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविर हुँदै शिखरतर्फ प्रस्थान गर्नुभएको पर्यटन विभागको आधारशिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ ।

बेपत्ता दुवै जनाको खोजी गर्न उनीहरूको कम्पनीले ६ जना अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले आग्रह गरेको छ ।

Back to top button