टीओआरमा सहमति नजिक पुग्यो कार्यदल, शीर्ष नेताहरूले टुंगोमा पुर्‍याउने

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)का लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ ।

सिंहदरबारमा आज बसेको बैठक सहमति नजिक पुगेको कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताउनुभयो ।

उहाँका अनुसार सहकारीको नाम र अपचलन गरिएका कम्पनीको नाम लेख्ने विषयमा सत्तापक्ष तयार भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि त्यसमा लगभग सहमत भएको उहाँको दाबी छ ।

यसै विषयमा छलफल गर्न केहीबेरमै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससहित सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको उहाँले बताउनुभयो ।

‘बैठक सहमति नजिक पुगेको छ। टुंगोमा भने पुगेका छैनौं। केहीबेरमै बालुवाटारमा शीर्ष नेताहरूको बैठक छ। उक्त बैठकले टुंगो पुर्‍याउँछ भन्ने विश्वास छ,’ मन्त्री गिरीले सञ्चारकर्मीसँग भन्नुभयो ।

उहाँले संसद सञ्चालनका निम्ति सत्तापक्ष र प्रतिपक्षबीच महत्वपूर्ण छलफल भएको बताउनुभयो ।

‘सहकारी र कम्पनीको नाम लेखिसकेपछि व्यक्तिको नाम लेखिरहन पर्दैन। स्वतः संस्थासँग जोडिएका व्यक्तिहरू पर्छन् नै। सत्तापक्षको यस प्रस्ताव प्रतिपक्षी दल लगभग सहमत छ। बालुवाटारको बैठकमा सहमति जुटेर भोलिदेखि संसद चल्ने विश्वास लिएका छौं,’ उहाँले भन्नुभयो ।

यस्तै, सहकारीको रकम हिनामिना प्रकरणमा मुछिनुभएका रवि लामिछानेको नाम नराखेसम्म संसद चल्न नदिने अडान कांग्रेसले यथावतै राखेको थियो। आजको विषयमा भने कांग्रेसले कुनै प्रतिक्रिया दिएको छैन।

Back to top button