कांग्रेसको अवरोध अन्त्य गरेर संसद अगाडि बढ्छ : एमाले उपाध्यक्ष पौडेल

भरतपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले संसदमा अहिले गरिरहेको अवरोध अन्त्य गरेर सदन सञ्चालन गर्ने बताउनुभएको छ ।

एमालेको चितवन जिल्ला कमिटीको ११ औं अधिवेशन उद्घाटन गर्दै उहाँले कांग्रेसले संसदमा गैरप्रजातान्त्रिक र असंसदीय चरित्र देखाएको टिप्पणी गर्नुभयो ।

कांग्रेस अहिलेको सत्ता गठवन्धनबाट अत्तालिएको भन्दै उहाँले २०८४ को निर्वाचन अगाडि कांग्रेस सत्तामा फर्किने कुनै सम्भावना नरहेको समेत बताउनुभयो ।

‘अहिलेसम्म कांग्रेस प्रतिपक्षमा बसेर चुनाव लडेको छैन, चुनाव आउँदा जहिल्यै कांग्रेस सत्तामा छ, उसलाई पहिलोपटक प्रतिपक्षमा राखेर निर्वाचन लड्न सिकाउनुपर्ने छ उसँग अनुभव पनि छैन’, उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘एमाले पटकपटक विपक्षीमा बसेर चुनाव लडेर पनि आफूलाई स्थापित गरेको दल हो, अबको निर्वाचनमा कांग्रेसको पालो हो ।’

यस्तै,एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेसको सदन अवरोधबाट संवैधानिक वाध्यता भएका विषयहरु समेत समस्यामा परेको बताउनुभयो ।

उहाँले आगामी जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्ने बाध्यता रहेको भन्दै कांग्रेसले अवरोध गरे नारावाजीका बीच वा अध्यादेशबाट बजेट आउने बताउनुभयो ।

आजबाट सुरु भएको एमालेको चितवन जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै जेठ १४ गते सकिने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

Back to top button