नारायणगढ-मुग्लिन सडकमा ३ बस र १ ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २२ जना घाइते

भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं. २९ मा चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २२ जना यात्रु घाइते भएका छन् ।

परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट प्युठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस गएराति साढे १२ बजेतिर एकैठाउँमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरु पनि त्यहीँ ठोक्किएका थिए ।

दुर्घटनामा परी घाइते भएकाहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । दुर्घटनास्थलबाट सबै सवारी साधनहरु हटाएर आज बिहान करिब ५ तिरबाट सडक यथावत सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

Back to top button