विराटनगर महानगरद्वारा ६१ विद्यालयलाई सिलिङ पंखा वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले ६१ वटा सामुदायिक विद्यालयहरुलाई सिलिङ पंखा वितरण गरेको छ । गर्मी बढ्दै गएपछि महानगरले आज सामुदायिक विद्यालयमा एकै पटक ५ सय पंखा वितरण गरेको हो ।

महानगरपालिका परीसरमा विद्यालयका प्राचार्यहरुलाई कार्यवाहक प्रमुख मधुबाबु तिवारीले पंखा हस्तान्तरण गर्नुभएको थियो । शैक्षिक प्रसाशन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार प्रति विद्यालय ३ देखि २० थानसम्म सिलिङ पंखा उपलब्ध गराइएको छ ।

सामुदायिक विद्यालयमा १ हजार पंखाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल ५ सय पंखा वितरण गरिएको दाहालको भनाई छ । तत्काललाई ५ सय पंखा उपलब्ध गराएसँगै विद्यालयहरुलाई जडान गर्न भनिएको छ । शैक्षिक प्रशाशन महाशाखा अन्तर्गत आर्थिक वर्ष २०८०।०८१ को बजेटमा विनियोजित रकम अनुरुप सामुदायिक तथा धार्मिक विद्यालयले पंखा पाएका छन् ।

कार्यवहाक प्रमुख तिवारीले पंखा वितरण गर्नुको उदेश्य विद्यार्थीलाई गर्मीयाममा पठन–पाठनमा सहजीकरण गराउने रहेको बताउनुभयो । उहाँले महानगरले सामुदायिक विद्यालयमा अनुगमन गर्दा कक्षा कोठामा पंखा अभाव भएको देखिएकाले विद्यार्थीलाई राहत दिने कार्यक्रम तत्काल कार्यान्वयन गरिएको बताउनुभयो । विगत एक महिनायता ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम विराटनगरमा देखिएको छ ।

यस्तै, विराटनगर महानगरपालिकामा पंखा आपूर्तिका लागि मोरङ सुन्दरहरैंचाको मनोकामना अटो मोवाइल्सले ठेक्का लिएको थियो । महानगरले २० लाख बजेट बिनियोजन गरेर ५०० पंखा खरिद गर्दा प्रतिइकाई ४ हजार रुपैयाँ पर्दछ ।

Back to top button