जसपा विभाजनसम्बन्धी रिटमा आज सुनुवाइ भएन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपाल विभाजनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको उक्त मुद्दा आज हेर्न नभ्याउनेमा परेको छ ।

जसपा छाडेका अशोक राईसहितका नेताहरुले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरुको दल दर्ता गरिदिएको थियो । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका नेताहरुले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

यस्तै, आफ्नो दल छाडेर जाने ७ सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिनुभएको थियो । दुबै रिटलाई सँगै राखेर आज हेर्ने गरी इजलास तोकिए पनि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् ।

Back to top button