मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी र विराटनगरमा करेन्ट लागेर एक नाबालकसहित २ जनाको मृत्यु भएको छ । करेन्ट लागेर सुनवर्षी नगरपालिका–९ डाइनियामा फोटो स्टुडियो सञ्चालकको र विराटनगर महानगरपालिका–८ मा नाबालकको मृत्यु भएको हो ।

आफ्नै घरमा फोटो स्टुडियो सञ्चालन गर्दै आउनुभएका सुनवर्षी–९ का ३५ वर्षीय उमेशप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार फोटो स्टुडियो सञ्चालन गरिएको कोठाभित्र काम गरिरहेका बेला ल्यापटपमा पेनड्राइप जोड्ने क्रममा गएराति ९ः३० बजेतिर अचानक करेन्ट लागेर साह घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गम्भीर घाइते हुनुभएका साहलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनसाथ १०ः३५ बजेतिर चिकित्सकले उहाँलाई मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिनुभयो ।

साहको शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ।

यस्तै, विराटनगर–८ देवकोटा चोकमा करेन्ट लागेर नाबालकको मृत्यु भएको छ । करेन्ट लागेर देवकोटा चोकमा रहेको खानेपानी कार्यालयको क्वार्टरमा बस्दै आउनुभएका सुरज चौधरीका ४ वर्षीय छोरा टेरेन्स चौधरीको मृत्यु भएको डीएसपी बस्नेतले बताउनुभयो । प्रहरीका अनुसार सुरज खानेपानी कार्यालयको कर्मचारी हो ।

पानी ‘सप्लायर्स’को जिम्मेवारीमा रहनुभएका उहाँ कार्यालयको क्वार्टरमा बस्दै आउनुभएको थियो । क्वार्टरको कोठाभित्रै खेल्ने क्रममा मल्टिप्लगबाट राति १० बजेतिर करेन्ट लागेर सुरजका छोरा टेरेन्स गम्भीर घाइते भएको र उपचारका लागि गोल्डेन अस्पताल लगिएको थियो ।

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराट टिचिङ अस्पताल लगियो । विराट पुर्‍याउनसाथ चिकित्सकले १२ः२५ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओली नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

Back to top button