नयाँ बजेट आशा जगाउने खालको छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट आशा जगाउने खालको आएको बताउनुभएको छ । आज पोस्ट बजेट अन्तर्क्रियामा उहाँले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताउनुभएको होे ।

‘बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा थियौं, आज रिल्याक्स मुडमा छौं । प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौं,’ अर्थमन्त्री पुनले भन्नुभयो,‘सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौं । हतपतमा केही मान्छेको कुरा सुनेर करका दर परिवर्तन गरिएको छैन । केही इरर हुन सक्छ । सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौं ।’

चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको उहाँले बताउनुभयो । बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको भन्दै उहाँले युवामा देशभित्र अवसर खोज्ने प्रयास गरिएको उहाँको भनाइ छ ।

‘देशभित्रै अवसरको खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेका छौं । अर्थतन्त्रको संरचनामा सुधार ल्याउने कोसिस गरेका छौं,’ उहाँले भन्नुभयो,‘हाम्रो कोसिस नयाँ चरणको सुधारको प्रयास हो । हाम्रो भौगोलिक स्थिति सुहाउँदो अर्थतन्त्र बनाउने प्रयत्न यसपटक गरिएको छ ।’

अर्थमन्त्री पुनले निजी क्षेत्र साथमा लिएर मनोबल बढाउने कोसिस गरिएको बताउनुभयो । ‘हाम्रा सीमाले साथ दिएसम्म निजी क्षेत्रमैत्री बनाउने कोसिस गरेका छौं । अब ठूला पूर्वाधार सरकार एक्लैले बनाउन सक्दैन, अब यसमा निजि क्षेत्रको उपस्थिति हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार जुन प्रदेशको विशेषता छ, सोही क्षेत्रका उत्पादनको हब बनाउने प्रयास गरिएको छ । त्यहाँ अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी केन्द्रित हुनेछ । अध्ययन, तालिम त्यहाँ केन्द्रित हुनेछन् । साथै, स्थानीय तहका हरेक पालिकाका केन्द्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न खोजिएको छ । रोजगारी अब स्थानीय तहमै सिर्जना हुनुपर्छ भन्ने कोसिस गरिएको छ ।

‘चितवन, पोखरा र लुम्बिनी क्षेत्र अहिले बढी भाइब्रेन्ट देखिएका छन् । यहाँ सरकारले पूर्वाधार बनाउँछ, यातायात पूर्वाधार बनिसकेपछि यीबीचका भेगका आर्थिक गतिविधिले गति लिने विश्वास लिएका छौं । यसमा हामी निजी क्षेत्रसँग सहकार्य गर्नेछौं,’ अर्थमन्त्री पुनले भन्नुभयो,‘बजेट बक्तव्यमा मैले बोकेको झोला स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने सिम्बोलिक सुधार अन्तर्गत नै प्रयोग गर्ने निर्णय अनुसार लिएका हौं, स–साना सुधारबाटै ठूलो सुधार हुनेछ ।’

Back to top button