इटहरीमा अत्यधिक गर्मीका कारण २ दिन विद्यालय बन्द

विराटनगर । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्यालयमा बिदा दिइएको छ । अत्यधिक गर्मी बढेको भन्दै इटहरी उपमहानगरले २ दिन विद्यालय बिदा दिइएको हो ।

गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै इटहरी उपमहानगरपालिकाले जेठ १७।१८ गते सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

इटहरीका मेयर हेमकर्ण पौडेलले गर्मीका कारण पठन–पाठनमा समस्या आएको भन्दै विद्यालय विदा दिइएको बताउनुभयो ।

बालबालिकामा गर्मीका कारण विभिन्न किसिमको समस्या हुने भएकाले समस्याबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उहाँले बताउनुभयो ।

यस्तै, केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

Back to top button