सहकारीलाई प्राथमिकता दिइनेछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले ल्याउने नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

 

आज विराटनगरमा भएको सहकारी संस्थाहरु सु – संचालनमा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले उद्योगको लागि आवस्यक कच्चा पदार्थ उत्पादनको लागि सहकारीले कच्चा उद्योग संचालन गर्ने हो भने सरकार ग्यारेन्टी बस्ने समेत बताउनुभयो । उहाँले यसबाट रोजगार सिर्जना हुने र उद्योगलाई कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने बाध्यता पनि हट्ने धारणा ब्यक्त गर्नुभयो ।

 

“सरकारले सहकारीसँगको सहकार्यमा वर्षको एउटा कच्चापदार्थ उद्योग संचालन गर्न सकियो भने बिस्तारै रोजगारी सिर्जना बढ्दै जाने र सहकारी प्रतिको नकारात्मक धारणा पनि हट्दै जान्छ” उहाले भन्नुभयो ।

 

“सहकारी भनेपछि जे पनि गर्न मिल्ने चलन बस्यो ” उहाँले भन्नू भयो, ” गरिबी उत्थानको लागि खोलिएका सहकारी धनीले धन कमाउने अखडा जस्तो देखियो । ” पैसा जम्मा गर्दा थोरै थोरै हुने र झिक्दा धेरै हुने भएकाले सबै एकै पटक माग्न आउदा सहकारी मात्र हैन बैंकले नि फिर्ता दिन नसक्ने बताउदै मुख्यमन्त्री कार्कीले कतिपय सहकारी अफवाह का कारण पनि समस्यामा आएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ” नियमन प्रक्रिया पनि कमजोर भयो । नियमन गर्ने निकायले कस्तो नियमन गरो भनेर अब सरकारले विशेष ध्यान दिन्छ ।”

कोशी प्रदेशका सहकारीको बिकासको लागि र समस्या आउन नदिनको लागि पनि सरकारले ध्यान दिनेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा सहकारी अभियान्ता तथा स्थानीय तहका सहकारी शाखा हेर्ने कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Back to top button