भारतमा आम निर्वाचनः अनपेक्षित परिणामसहित मोदी प्रधानमन्त्री बन्दै

विराटनगर । अपेक्षा विपरित मत परिणाम आएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने हुनुभएको छ ।

प्रधानमन्त्री मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले अपेक्षाकृत नतिजा ल्याउन नसकेपछि गठबन्धनकै बलमा मात्रै उहाँ प्रधानमन्त्री हुनुपर्ने अवस्था सृजना भएको हो ।

भाजपाले ५ सय ४३ सदस्यीय लोकसभामा स्पष्ट बहुमतका लागि आवश्यक २ सय ७२ सिट प्राप्त गर्न सकेन । २ सय ४१ सिटमा सीमित बन्न पुग्यो । यद्यपी, भाजपाको नेतृत्वमा रहेको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले २ सय ९२ सिट जितेको छ । यहिकारण मोदीले तेस्रो कार्यकालका लागि आगामी जुन ९ भित्र प्रधानमन्त्रीका रूपमा शपथ लिने ढोका भने खुलेको छ ।

लोकसभाका लागि भएको आमनिर्वाचनसँगै चार प्रान्तमा पनि निर्वाचन भएको थियो । ती राज्यमध्ये सिक्किममा स्थानीय सिक्किम क्रान्ति दल, आन्ध्र प्रदेशमा तेलगु देशम र अरुणाचल प्रदेश एवं उडिसामा भारतीय जनता पार्टीले विजय हासिल गरेको छ ।

सन् २०१४ को निर्वाचन र त्यसपछिको २०१९ को निर्वाचनमा भारतीय जनता पार्टी एक्लैले क्रमशः २ सय ८२ र ३ सय ३ स्थान जितेर स्पष्ट बहुमत हासिल गरेको थियो । अबको सरकार भने सहयोगीहरुको भूमिकामा निर्भर हुनुपर्ने अवस्थामा पुगेको छ। मूलतः एनडीए गठबन्धनभित्रको १६ सिट भएको आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुको तेलगु देशमा पार्टी र १२ सिट भएको बिहारका नितिशकुमारको जनता दल युनाइटेड पार्टीको मुख्य भूमिका रहनेछ । नायडु र नितिशका माग पूरा गर्नु प्रधानमन्त्री मोदीका लागि बाध्यता बन्नेछ । त्यसकारण उहाँको अबको यात्रा भने त्यति सहज हुने छैन ।

उत्तर प्रदेश राज्यमा भाजपाको अपेक्षा विपरित अत्यन्तै निराशाजनक परिणाम आएको छ । ८० सिट भएको उक्त राज्यमा भारतीय जनता पार्टीले जम्मा ३४ सिट मात्र जितेको छ । २०१४ र २०१९ मा यस राज्यमा भाजपाले ७० र ६२ सिट जितेको थियो । उत्तर प्रदेशमा राहुल गान्धीको कांग्रेस र अखिलेश यादवको समाजवादी पार्टीको गठबन्धनले ४५ सिट जितेको छ । स्वयं गान्धीले रायबरेलीबाट ठूलो अन्तरले जित्नुभएको छ भने यादवले कन्नौजबाट उसैगरि जित निकाल्नुभएको छ । उत्तर प्रदेशबाट स्मृति इरानीसहित केही केन्द्रीय मन्त्रीले पराजय ब्यहोर्नुपरेको छ ।

भाजपाको सिट संख्या झन्डै ६० सिटले घटेको छ । तर, भारतीय जनता पार्टी संसद्मा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएसँगै मोदी लगातार तेस्रो प्रधानमन्त्री बन्ने प्रायः निश्भित भएको हो । भाजपापछिको दोस्रो ठूलो दल कांग्रेसले सयभन्दा कम संख्या जितेको छ । कांग्रेसले लगातार तेस्रोपटक सयभन्दा कम सिट जितेको हो । भाजपाको सिट संख्या घटे पनि मत ३७ प्रतिशत चाहिँ यथावत् कायम राख्न सफल भएको छ ।

Back to top button