प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको तालिका सार्वजनिक

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गर्ने प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।

आज विराटनगरस्थित बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा असार १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तालिका सार्वजनिक गरिएको हो ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम) ले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुनुपर्ने प्रतियोगिताहरु असार १५ गतेभित्रै सम्पन्न गर्ने गरी सञ्चालन गर्न लागिएको बताउनु भयो ।

प्रतियोगितामा पुरूष र महिला दुवैतर्फ मुख्यमन्त्री फुटवल प्रतियोगिता, मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता, पौडी प्रतियोगिता,कबड्डी प्रतियोगिता, महिला आत्मरक्षा तथा योगा प्रशिक्षण, कुराँस प्रतियोगिता, भारत्तोलन प्रतियोगिता र प्रशिक्षक विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएका छन् ।

प्रदेशस्तरीय प्रतियोगिताका सञ्चालनका लागि बोर्डसँग भएको १ करोेड १० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

बस्नेतका अनुुसार प्रतियोगिताका विभिन्न खेलहरू मोरङ, सुनसरी, खोटाङ, तेहृथुमलगायतका जिल्लामा आयोजना गरिनेछन् ।

Back to top button