टी–२० विश्वकपः अष्ट्रेलियासँग ओमान ३९ रनले पराजित

काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई पराजित गरेको छ । अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो ।

बारबाडोसको ब्रिजटाउन मैदानमा ओमानले टस जितेर पहिला फिल्डिङ राजेको थियो । अष्ट्रेलियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो। १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानको पारी ९ विकेटको क्षतिमा १ सय २५ रनमा समेटियो।

अष्ट्रेलियाका लागि मार्कस स्टोनिस र डेभिड वार्नरले अर्धशतकीय पारी खेले स्टोनिसले ३६ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा सर्वाधिक ६७ रनको योगदान दिनुभयो ।

यस्तै वार्नरले ५१ बल खेल्दै १ छक्का र ६ चौका हान्दै ५६ रन बनाउनुभयो । यस्तै मिचेल मार्सले १४, ट्रभिस हेडले १२ तथा टिम डेभिडले १० रन बनाउनुभयो । बलिङतर्फ ओमानका मेहरन खानले २ तथा बिलाल खान र कलीमुल्लाहले १–१ विकेट लिनुभयो ।

यसैगरी ओमानका लागि एक सय २५ रन बनाउने क्रममा आयान खानले सर्वाधिक ३६ रनको योगदान दिनुभयो। त्यस्तै मेहरान खानले २७, अकिब इलियासले १८ तथा शकील अहमदले ११ रन बनाउनुभयो। बलिङतर्फ अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ३ तथा नाथन एलिस, मिचेल स्टार्क र एडम जम्पाले २–२ विकेट लिनुभयो ।

टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेटस् (यूएई) र पाकिस्तानबीच आज राति ९ः१५ बजे खेल हुनेछ ।

Back to top button