
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताउनुभएको छ ।
आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले राजनीतिक अस्थिरतामा रमाउनुभन्दा स्थिरता कायम गरेर अघि बढ्नु राम्रो हुने बताउनुभयो ।
‘सात प्रदेश र केन्द्रमा कसैको पनि बहुमत छैन, यसले अस्थिरता जन्माउँछ। यस स्थितिमा कोही पनि रमाउने र खुसी हुने कुरा छैन’, उहाँले भन्नुभयो, ‘संवैधानिक र कानुनी व्यवस्थाका कारण कोही कसैको पनि बहुमत आउने स्थिति छैन, यसर्थ राष्ट्रिय दृष्टिकोणका साथ अघि बढ्नुपर्ने आवश्यकता छ।’
राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढेको बताउँदै अध्यक्ष ओलीले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनलाई अगाडि बढाउन जरुरी रहेकाले यसलाई भत्काउन दिइँदैन भन्नुभयो।
‘अहिलेको समीकरण बनाउन र विश्वासको मत नदिने योजनामा केही दलहरु थिए तर त्यो सफल भएन । यो समीकरण टुट्यो भने देशमा राम्रो हुनेवाला छैन, त्यसैले समीकरण भत्किन दिइँदैन’, अध्यक्ष ओलीको भनाइ थियो।
यसैगरी उहाँले आफ्नो पार्टीले सरकारले ल्याएको बजेट राम्रो हुनुपर्छ भन्ने कुरा राखेको र यस्तो भन्नु नराम्रो नभएको बताउनुभयो । फरक प्रसङ्गमा कुरा गर्दै उहाँले भारतका प्रधानमन्त्रीको शपथग्रहणमा नेपालका प्रधानमन्त्रीहरू जाने पुरानो परम्परा रहेकाले वर्तमान प्रधानमन्त्री त्यहाँ जानुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।







